Thursday, July 2, 2009

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल


सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ। यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ। लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशंकर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रामाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ। नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि छ। उत्तर देखि दक्षिणको चौडाई भने एकनाशको छैन। पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि र न्युनतम चौडाई १४५ कि.मि रहेको छ। यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन्। यो प्रतिशत भारतको भन्दा बढी छ, अतः नेपाल विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ नेपालमा पर्दछन् जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो। काठमाडौं, ललितपुर र भक्तपुर शहरहरुलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख सहरहरुमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पर्दछन्। नेपाल भन्ने शब्दको उत्त्पत्तिको बारेमा ठोस प्रमाण केही छैन, तर एक प्रसिद्ध विश्वास अनुसार यो शब्द ने मुनि तथा पाल (ओडार) मिलेर बनेको हो।

No comments:

Post a Comment

Like referral

no say to drug, global warming and tourisam,how can we earn money in our free time?

Flag Counter

free counters